पर्सा : नक्कली बाबु बनेर वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले झुटो विवरणका आधारमा एक जना किशोरीलाई नागरिकता दिएको आरोप लागेको छ। । सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता कीर्ते गरेको आरोपमा जाहेरी समेत परेको छ ।

२०७५ साल साउन १३ गते वीरगञ्ज महानगर वडा नं ३ बस्ने रुविना श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो पटक लिएको नागरिकता प्रमाणपत्रमा बुबाको नाम राजेशमान सिंह उल्लेख छ । २०७६ फागुन ८ गते प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले रुविना श्रेष्ठको नाममा प्रतिलिपि नागरिकता जारी गरेका छन् ।

रुविनाको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख भए पनि आमाको नाम भने खुलाइएको छैन । नागरिकतामा किशोरीको जन्म मिति २०५९ असार ३० गते उल्लेख छ ।वीरगञ्ज महानगर वडा नं ३ स्थायी ठेगाना भएका महानगर प्रमुखको परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एउटा छोरा अनिशमान सिंह श्रेष्ठमात्रै छन् ।

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार सिंहले राजनीतिक फाइदाका लागि अरुको सन्तानलाई झुटो विवरण पेस गरेर आफ्नो नामबाट नागरिकता दिलाएको हुन सक्छ ।पहिलो पटक २०७५ साल साउन १३ गते षड् कुमार पोखरेलद्वारा नागरिकता जारी गर्दा जिल्ला प्रशासन कार्यालय पर्सामा लोकनाथ पौडेल प्रमुख जिल्ला अधिकारी थिए ।

गैरकानुनी ढंगबाट नागरिकता प्राप्त गरेकी किशोरी रुविना हाल राहदानी बनाएर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नागरिकता फाँटका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले पुरानो ढड्डाको आधारमा प्रतिलिपि नागरिकता जारी गरिएको बताए ।‘वडा कार्यालयबाट आएको सिफारिसका आधारमा सम्पूर्ण प्रमाणलाई केलाएर तत्कालीन समयमा नागरिकता जारी गरेको देखिन्छ, उहाँले प्रमाणसहित मेरो छोरी हो भनेर आएपछि हामीले के गर्न सक्छौँ र रु’ श्रीवास्तवले भने, ‘यो विषय अब थप अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।’

महानगर प्रमुख सिंहले रुविनालाई नागरिकता दिलाउनका लागि प्रक्रियागत रुपमा सबै कागजपत्र पूरा गरेको स्थानीय प्रशासनले जनाएको छ । सिंह रुविनाको बाबु भने नभएको स्थानीय जनप्रतिनिधि र मेयर सिंहका छिमेकी बताउँछन् ।रुविनालाई नागरिकता दिनका लागि वीरगञ्ज महानगरपालिका वडा नं। ३ ले सिफारिस दिएको छ । नागरिकताको सिफारिस दिँदा वडा अध्यक्ष रहेका बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन् । तर, नागरिकताका लागि सिफारिस गर्दा उनलाई बिदामा राखेर निमित्त वडा अध्यक्ष बनेका तत्कालीन वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए ।

वडा अध्यक्ष बैजुलालले आफूलाई यसबारे कुनै जानकारी नभएको र मेयरले किशोरीलाई छोरी भनेर नागरिकता सिफारिस मागेको विवरण वडामा नभएको दाबी गरे । ‘मेरो वडाबाट सिफारिस भएको बारेमा मलाई थाहा छैन,’ उनले भने ।पर्साका प्रमुख जिल्ला अधिकारी तथा सहसचिव दिनेशसागर भुसालले वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले झुटो कागजपत्र पेस गरेर किशोरीलाई वंशजको नागरिकता दिएको विषयमा अनुसन्धान हुने बताए । ‘नक्कली बाबु बनेर किशोरीलाई नागरिकता दिएको विषयमा सूचना आएको छ, के कसो भएको हो भन्नेबारे खोजबिन हुन्छ,’ प्रजिअ भुसालले भने ।

म कानुनी उपचारमा जान्छु : महानगर प्रमुख सिंह

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले ६ वर्ष अघि जारी भएको नागरिकताको विषयलाई अहिले सार्वजनिक गरेर बदनाम गर्न खोजिएको भन्दै कानुनी उपचार जाने बताएका छन् । महानगर प्रमुखले किशोरी रुविना श्रेष्ठलाई आफु बाबु बनेर नागरिकता जारी गरेको भने घुमाउरो पाराले स्विकार गरेका छन् । ‘विगतमा मान्छेको निजी जीवनमा के के हुन्छ हुन्छ, अहिले सार्वजनिक पदमा बसेको बेलामा सार्वजनिक गर्न मिल्छ रु,’ महानगर प्रमुख सिंहले भने, ‘यो विषयलाई लिएर कानुन व्यवसायीसँग मेरो छलफल भईसकेको छ म भोली नै कानुनी उपचारमा जाँदैछु ।’

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.